







चन्दन यादब 
राजबिराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको प्रसिद्ध धार्मिक स्थल डाक्नेश्वरी मन्दिरमा पूजा–अर्चना गर्दै आफ्नो चुनावी प्रचार अभियानको औपचारिक सुरुआत गरेका छन् ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएपछि बुधबार उनले डाक्नेश्वरी नगरपालिकास्थित डाक्नेश्वरी मन्दिरमा पुगेर पूजाआजा गरेका हुन् ।
पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरूसँगै मन्दिर दर्शन गरेका अध्यक्ष यादवले स्थानीय लोकआस्था, धार्मिक महत्त्व तथा क्षेत्रको पूर्वाधार अवस्थाबारे जानकारी लिएका थिए ।
जसपाका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहका अनुसार अध्यक्ष यादवले स्थानीय नेता, कार्यकर्ता, शुभेच्छुक तथा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै चुनावी अभियानलाई तीव्रता दिएका छन् । मधेश जनविद्रोहका कमान्डरसमेत रहेका यादवसँग भेट्न स्थानीय जनता उत्साहित देखिएको उनले बताए ।
यस अवसरमा स्थानीयवासीहरूले सडक, शिक्षा, स्वास्थ्य तथा सिंचाइ क्षेत्रको दयनीय अवस्थाबारे आफ्ना गुनासा र अपेक्षा अध्यक्ष यादवसमक्ष राखेका थिए ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |