







Memo Khabar 
राजविराज । मधेसमा लामो समयदेखि दोहोरिँदै आएको उपेक्षा र अविश्वसनीय राजनीतिक अभ्यासको विकल्प खोज्दै जनमत पार्टीले स्थानीय तहबाटै संगठन विस्तारलाई तीव्र बनाएको छ ।
यही क्रममा सप्तरी क्षेत्र नं. २ अन्तर्गत तिलाठी कोइलाडी गाउँपालिका ३ मा जनमत पार्टीको गाउँपालिका स्तरीय प्रारम्भिक संगठनात्मक बैठक सम्पन्न भएको छ ।
बिहीबार सकरपुरास्थित उग्रतारा भगवती मन्दिर परिसरमा सम्पन्न बैठकले आगामी प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राख्दै पार्टीको सांगठनिक एकता र चुनावी कार्यदिशा स्पष्ट पारेको छ। बैठकमा जनमत पार्टीका केन्द्रीय सदस्य नेहाल सिंह राजपुत, पालिका समिति अध्यक्ष केशवकुमार मण्डल, सचिव दामोदर मुखिया, वडा नं. २ का वडाध्यक्ष कमलकुमार मण्डल, युवा नेता मुकेश कुमार यादवलगायत आठै वडाका प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले डा. सीके राउतको नेतृत्वमा अघि बढिरहेको जनमत पार्टी मधेसका लागि केवल नयाँ दल नभई दीर्घकालीन समाधानको राजनीतिक धार भएको धारणा राखे । विगतमा सत्तामुखी दलहरूले मधेसलाई आश्वासनमा सीमित राखेको आरोप लगाउँदै, जनमत पार्टी जनताको वास्तविक समस्या—बेरोजगारी, पलायन र संरचनागत विभेद सँग प्रत्यक्ष रूपमा जोडिएको राजनीतिक अभियान भएको उनीहरूको भनाइ थियो ।
बैठकले प्रतिनिधि सभा निर्वाचनलाई जनताको मतबाट परिवर्तन सुनिश्चित गर्ने अवसरका रूपमा लिने निर्णय गर्दै घरदैलो अभियान, टोलस्तरीय वैचारिक छलफल, युवा परिचालन र उम्मेदवारका गतिविधिलाई केन्द्रमा राखेर प्रचार–प्रसार गर्ने रणनीति तय गरेको छ । पार्टी सचिव दामोदर मुखियाका अनुसार संगठनलाई वडादेखि बलियो बनाउँदै जनतासँग प्रत्यक्ष संवाद बढाइनेछ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मधेसले आफ्नै भविष्यको निर्णय गर्ने ऐतिहासिक अवसरका रूपमा व्याख्या गर्दै जनमत पार्टीले पालिका र वडास्तरमा संगठन सुदृढीकरण तथा निर्णायक जनमत निर्माणको अभियानलाई अझ तीव्र बनाएको जनाएको छ ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |