







चन्दन यादब 
राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा जसपा नेपालका नेता उमेश कुमार यादवले मतदाताले उम्मेदवारको मूल्यांकन उसको योगदानका आधारमा गर्ने बताएका छन् ।
राजविराज नगरपालिका–१० विरौलमा बुधबार आयोजित चुनावी घरदैलो अभियानको उद्घाटन कार्यक्रममा बोल्दै पूर्वसिंचाइ मन्त्रीसमेत रहेका यादवले आफूले पाएको जिम्मेवारीअनुसार इमान्दारितापूर्वक काम गरेको दाबी गरे ।
उनले नदी तटीय क्षेत्रका दीर्घकालीन समस्या समाधानका लागि पहल गरेको, साथै शिक्षा, स्वास्थ्य र यातायात क्षेत्रमा महत्वपूर्ण काम अघि बढाएको उल्लेख गरे । अधुरा योजनाहरूलाई पूर्णता दिन पुनः जनताको समर्थन आवश्यक रहेको उनले बताए ।
यादवले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत राष्ट्रिय गौरवका परियोजना सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गर्दै जितपछि जनपरिषद गठन गरी जनताको प्रत्यक्ष सहभागितामा विकास र नीति निर्माण अघि बढाइने स्पष्ट पारे ।
उनले स्वस्थ आलोचनालाई सधैं स्वागत गर्ने उल्लेख गर्दै नयाँ अभ्यास र सोचमा साथ दिन सप्तरीवासीसँग अपिल गरे ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |