







भूषण सिहं 
सप्तरी । हनुमाननगर कंकालिनी नगरपालिका–१०, इनर्वाका पूर्व वडा अध्यक्ष शरवण मण्डलका २२ वर्षीय छोरा विवेकानन्द मण्डलको लण्डनमा अध्ययनका क्रममा अकस्मात् निधन भएको छ ।
विवेकानन्द मण्डल सन् २०२३ सेप्टेम्बरमा कम्प्युटर साइन्स विषयमा अण्डरग्रयाजुएट अध्ययनका लागि बेलायत पुगेका थिए । अध्ययनकै क्रममा आइतबार उनलाई अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि उनले सन्डरल्याण्ड रोयल अस्पताल पुगेका थिए ।
अस्पतालले उनलाई गम्भीर अवस्थामा आइसियूमा राखी उपचार सुरु गरेको थियो । तर, उपचारकै क्रममा सोमबार चिकित्सकले उनलाई मृत घोषणा गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले जानकारी दिएका छन् ।
विदेशमा उच्च शिक्षा हासिल गरी आफ्नो भविष्य उज्ज्वल बनाउने र आफ्नो गाउँ तथा परिवारको नाम उच्च गर्ने सपना बोकेका विवेकानन्दको असामयिक निधनले परिवार मात्र होइन, सम्पूर्ण हनुमाननगर कंकालिनी नगरपालिका–१० इनर्वा क्षेत्रलाई शोकमा डुबाएको छ ।
मिलनसार, अनुशासित र मेहनती स्वभावका विवेकानन्द मण्डलको निधनलाई स्थानीयवासीहरूले अपूरणीय क्षति भएको बताएका छन् ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |