







चन्दन यादब 
सिरहा । खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘क्रिकेट फर वास कार्यक्रम अन्तर्गत एकदिने किशोरी सफ्टबल क्रिकेट प्रतियोगिता मंगलबार सम्पन्न भएको छ ।
सिरहाको कर्जन्हा नगरपालिकास्थित फूलकुमारी महतो माध्यमिक विद्यालय, बन्दीपुरमा आयोजित प्रतियोगितामा चार टोलीको सहभागिता रहेको थियो । प्रतिस्पर्धात्मक खेलहरूपछि जनसेवा माध्यमिक विद्यालयले उपाधि हात पारेको छ ।
प्रतियोगिता सफ्टबल क्रिकेटको ढाँचामा सञ्चालन गरिएको थियो। प्रत्येक खेल ८–८ ओभरको रहेको थियो र बालमैत्री बल तथा ब्याट प्रयोग गरी खेलाइएको थियो। आयोजकहरूले खेलकुदमार्फत सरसफाइ र स्वच्छतासम्बन्धी सन्देश प्रवाह गर्ने उद्देश्य राखेका थिए ।
प्रतियोगिताको क्रममा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी विभिन्न जनचेतनामूलक सन्देशहरू प्रस्तुत गरिएको थियो । यसले किशोरीहरूमा व्यक्तिगत र सामुदायिक स्वास्थ्य तथा सरसफाइप्रति सचेतना बढाउने साथै आत्मविश्वास र सामाजिक सहभागितामा वृद्धि गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रम वेल्थङ्गरहिल्फे र सबल नेपालको साझेदारीमा सञ्चालित ‘तराई–मधेश क्षेत्रमा खानेपानी, सरसफाइ तथा स्वच्छता प्रणाली सुदृढीकरण परियोजना’ अन्तर्गत सम्पन्न भएको हो । परियोजनाले महिनाव्यापी रूपमा स्वास्थ्य र सरसफाइसम्बन्धी सचेतना प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।
यसअघि गत माघको पहिलो साता, मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री बसन्त कुमार कुशवाहा र नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवं नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |