







चन्दन यादब 
राजविराज । राजविराजमा सुरु भएको प्रधानमन्त्री कप एकदिवसीय प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता (पुरुष) मा सप्तरीले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा सप्तरीले सिरहालाई ४ विकेटले पराजित गर्दै प्रतियोगितामा बलियो दाबेदारी प्रस्तुत गरेको हो ।
बुधबार सप्तरी क्रिकेट संघको आयोजनामा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिरहाले ३० ओभर १ बलमा सबै विकेट गुमाउँदै १२५ रन मात्र बनाउन सक्यो ।
सिरहाका लागि शैलेन्द्र प्रसाद साहले सर्वाधिक ३१ रन जोडे भने प्रदीप पासवानले २८ रन बनाए। त्यस्तै, रूपेश सिंहले १८ रन तथा आनन्द कामतीले १२ रनको योगदान दिएका थिए ।
सप्तरीको बलिङ आक्रमण प्रभावशाली रह्यो। नितेश यादव (ए) र अजय यादवले समान ३–३ विकेट लिँदै सिरहाको ब्याटिङ लाइनअप ध्वस्त पारे। कर्ण बहादुर विक र संजीव मण्डलले पनि २–२ विकेट हात पार्दै टोलीको जितमा महत्वपूर्ण भूमिका खेले ।
१२६ रनको लक्ष्य पछ्याएको सप्तरीले २८ ओभर ४ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
जितका नायक अभिषेक कार्की बने। उनले संयमित र जिम्मेवार ब्याटिङ गर्दै नटआउट ५३ रनको अर्थशतकीय पारी खेले। उनको उत्कृष्ट प्रदर्शनका कारण सप्तरीले लक्ष्य सहजै भेट्टायो ।
साथै, रोहन विकले २० रन, रौनक सिंहले १४ रन तथा नितेश यादवले १० रन नटआउट जोड्दै टोलीलाई जिततर्फ डोर्याए ।
सिरहाको बलिङतर्फ रूपेश सिंह र प्रदीप पासवानले समान ३–३ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
खेलको ‘प्लेयर अफ दि म्याच’ घोषित अभिषेक कार्कीलाई अन्तर्राष्ट्रिय खेलाडी दीपेन्द्र चौधरीले ट्रफी प्रदान गरेका थिए ।
सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादवका अनुसार प्रतियोगिताअन्तर्गत बिहीबार सिरहा र महोत्तरीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रदेशस्तरीय छनोट प्रतियोगिताले स्थानीय खेलाडीलाई राष्ट्रियस्तरसम्म पहिचान दिलाउने अवसर प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |