







Memo Khabar 
राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले बिहीबार पनि चुनावी छलफल तथा भेंटघाट कार्यक्रमलाई निरन्तरता दिँदै तीव्र बनाएका छन् ।
डाक्नेश्वरी नगरपालिकाका लक्ष्मीपुर, पातो, बलाटी र बनौला गाउँमा पुगेका अध्यक्ष यादवले स्थानीय नेता, कार्यकर्ता तथा आम मतदातासँग प्रत्यक्ष संवाद र भेंटघाट गरेका हुन् ।
कुनै तामझामबिनै गाउँ–गाउँमा पुगेका यादवसमक्ष स्थानीयवासीहरूले विगतमा निर्वाचित जनप्रतिनिधिहरूले अपेक्षाअनुसार विकास नगरेको गुनासो खुलेर व्यक्त गरेका थिए ।
स्थानीयवासीहरूले पक्की सडकको अभावका कारण आवागमनमा समस्या, सिंचाइ सुविधाको कमीले कृषि पेशा संकटमा परेको, गुणस्तरीय शिक्षाको पहुँच नहुँदा बालबालिकाको भविष्य प्रभावित भएको तथा सुविधासम्पन्न अस्पताल नहुँदा सामान्य उपचारका लागि समेत टाढा जानुपर्ने बाध्यता रहेको बताएका छन् ।
त्यसैगरी वर्षायाममा पुल नहुँदा खोलानाला तर्न कठिनाइ हुने, समयमा मलखाद उपलब्ध नहुने, ग्रामीण महिलाहरू अवसरबाट वञ्चित रहनु, बेरोजगारी बढ्दै जानु तथा नदी नियन्त्रणको अभावले बस्ती जोखिममा परेको जस्ता समस्या पनि उनीहरूले अध्यक्ष यादवसमक्ष राखेका थिए ।
चुनावका बेला आकर्षक आश्वासन बाँडेर निर्वाचित भए पनि पछि जनतालाई बेवास्ता गर्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै आएका स्थानीयको कुरा सुन्दै अध्यक्ष यादवले जनताको असन्तोष स्वाभाविक रहेको प्रतिक्रिया दिए ।
उनले भने, “विकास हुँदै नभएको अवस्था त होइन, तर अन्य क्षेत्रको तुलनामा यो क्षेत्र अपेक्षाकृत रूपमा पछाडि परेको सत्य हो ।”
आमजनताबाट आएका गुनासाहरूलाई गम्भीरतापूर्वक लिँदै अध्यक्ष यादवले आफ्नो अवलोकनअनुसार यहाँ पाँच वटा मूलभूत समस्या देखिएको बताए ।
“मेरो नजरमा बाटोघाटो, स्वास्थ्य, गरिबी, बेरोजगारी र समग्र विकास यहाँका प्रमुख समस्या हुन्,” उनले भने, “यी विषय आमजनताका लागि गम्भीर चिन्ताका विषय हुन् र समाधानका लागि संघ, प्रदेश तथा स्थानीय तीनै तहका सरकारले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ ।”
जनताका समस्या र आवश्यकतालाई केवल भाषणमा सीमित नराखी व्यवहारिक नतिजामा देखाउने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष यादवले आफू बोल्नभन्दा काम र परिणाममा विश्वास गर्ने नेता भएको बताए। उनले जनताले प्रत्यक्ष रूपमा परिवर्तन अनुभूति गर्न पाउने गरी काम गर्ने आश्वासन समेत दिएका छन् ।
चुनावी छलफल तथा भेंटघाट कार्यक्रममा जसपा नेपालका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री मृगेन्द्र कुमार सिंह यादव, पूर्वमन्त्री रेणु कुमारी यादव, केन्द्रीय सचिव एवम् क्षेत्र निर्वाचन परिचालन समितिका संयोजक शैलेन्द्र प्रसाद साह, केन्द्रीय सदस्य तथा युवा–विद्यार्थी संयोजक बिदेश्वर प्रसाद यादव (बिक्की), डाक्नेश्वरी नगरपालिकाका पूर्व मेयर शिवनारायण साह, जिल्ला अध्यक्ष सुनिल कुमार झा लगायत नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
नेताहरूले पनि स्थानीय जनतासँग संवाद गर्दै पार्टीको नीति, कार्यक्रम तथा भावी योजनाबारे जानकारी गराएका थिए । चुनाव नजिकिँदै जाँदा उपेन्द्र यादवको गाउँ केन्द्रित सक्रियताले सप्तरी क्षेत्र नम्बर–३ को चुनावी माहोल थप तातिएको छ ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |