







चन्दन यादब 
राजविराज । राजविराजमा जारी प्रधानमन्त्री कप एकदिवसीय प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता (पुरुष) अन्तर्गत सप्तरीले लगातार दोस्रो जित दर्ता गरेको छ। आइतबार सम्पन्न खेलमा सप्तरीले महोत्तरीलाई ३ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो बलियो दाबी प्रस्तुत गरेको हो ।
सप्तरी क्रिकेट संघको आयोजनामा भइरहेको उक्त प्रतियोगितामा टस जितेर सप्तरीले पहिले फिल्डिङ रोजेको थियो। ब्याटिङको निम्तो पाएको महोत्तरीले निर्धारित ५० ओभर पूरा गर्न नसक्दै ४५ ओभर ३ बलमा सबै विकेट गुमाएर १६५ रन बनायो ।
महोत्तरीका लागि नवीनकुमार यादवले सर्वाधिक ३९ रनको योगदान दिए भने अभिषेक अधिकारीले ३२ रन जोडे । अभिषेक तिवाडीले २१ र आदित्य मण्डलले ११ रन बनाउँदा अन्य ब्याट्सम्यानहरू उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। सप्तरीको अनुशासित बलिङका कारण महोत्तरीका ब्याट्सम्यानहरू लगातार दबाबमा परेका थिए ।
बलिङतर्फ सप्तरीका अभिषेक कार्की प्रभावशाली देखिए । उनले ३ विकेट लिँदै महोत्तरीको मध्यक्रम ध्वस्त पारे। नितेश यादव र अजय यादवले समान २–२ विकेट लिएर टोलीलाई लक्ष्य सीमित राख्न महत्वपूर्ण भूमिका खेले ।
१६६ रनको लक्ष्य पछ्याएको सप्तरीले ३८ ओभर २ बलमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। जितमा भोलासाहले ३० रनको महत्वपूर्ण पारी खेले भने पप्पु यादव (बि) ले २९ रन जोडे। रोहन बिकले २६ रन बनाउँदा अभिषेक कार्कीले ब्याटिङतर्फ पनि २३ रनको योगदान दिए। रोबिन सिंहले १८ रन जोडे ।
महोत्तरीका लागि बलिङतर्फ रमेश सहनीले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। नितेश यादवले २ विकेट र आकाश मण्डलले १ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
अलराउन्ड प्रदर्शनका आधारमा सप्तरीका अभिषेक कार्की ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनलाई सप्तरी क्रिकेट संघका सदस्य बिरेन्द्र यादवले नगद १ हजार ५ सय रुपैयाँसहित कप प्रदान गरे ।
सप्तरी क्रिकेट संघका सदस्य रोशन मण्डलका अनुसार प्रतियोगिता अन्तर्गत सोमबार सप्तरी र धनुषाबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ। लगातार दुई जितसँगै सप्तरी टोलीको मनोबल उच्च देखिएको छ ।
प्रदेशस्तरीय छनोट प्रतियोगिताले स्थानीय प्रतिभावान खेलाडीहरूलाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने आयोजकको विश्वास छ। यस प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूले आगामी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछन् ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |