







Memo Khabar 
राजविराज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह भोली मंगलबार सप्तरी जिल्लामा आउँदैछन् । आगामी राजनीतिक गतिविधि र संगठन विस्तारलाई केन्द्रमा राखेर तय गरिएको उनको यो भ्रमणलाई पार्टीले रणनीतिक रूपमा महत्वपूर्ण मानेको छ ।
भ्रमणका क्रममा बालेनले सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा अवस्थित रास्वपाका पार्टी कार्यालयमा पुगेर औपचारिक रूपमा घण्टी बजाउने कार्यक्रम रहेको छ । यसलाई पार्टीको सांगठनिक पहिचान मजबुत बनाउने र स्थानीय तहसम्म पार्टी सन्देश पुर्याउने अभियानको हिस्सा मानिएको छ ।
पार्टी नेताहरूका अनुसार बालेनको उपस्थितिले कार्यकर्ता तथा समर्थकमा नयाँ उत्साह थपिने अपेक्षा गरिएको छ । विशेषगरी पछिल्लो समय मधेश क्षेत्रमा वैकल्पिक राजनीतिक शक्तिको खोजी भइरहेका बेला बालेनको सप्तरी आगमनले रास्वपाको उपस्थितिलाई थप प्रभावशाली बनाउने विश्वास लिइएको छ ।
बालेनको भ्रमणले सप्तरीको राजनीतिक सरगर्मी बढाउने मात्र होइन, स्थानीय राजनीतिक समीकरणमा पनि नयाँ बहस सुरु हुने संकेत देखिएको छ ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |