







चन्दन यादब 
राजबिराज । नगरवासीले लालपुर्जा माग गर्दै राजबिराज नगरपालिकामा धर्ना दिएका छन । सोमवार राजबिराज नगरका बिटौरी र ब्लक जग्गाको कार्यालय घेराउ गर्दै कार्यालय अगाडि धर्ना बसेका हुन ।
नगर क्षेत्रको विटौरी र ब्लक जग्गाको लालपुर्जाको मागसहित आन्दोलनरत नगरवासी द्वारा गठित सङ्घर्ष समितिको अगुवाईमा बिहान साढे १० बजेदेखि कार्यालय खुल्नासाथ कार्यालय घेराउ र नारावाजी गर्दै धर्ना दिइएको हो ।
एक घण्टा दिइएको धर्नाका कारण कार्यालयको सेवा प्रवाह ठप्प भएको थियो । धर्नामा सङ्घर्ष समितिका पदाधिकारीका साथै जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, उद्योग वाणिज्य संघ सप्तरीका सचिव अमृत संचेती, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष दिपेन्द्र कुमार चौधरी, संघर्ष समितिका संयोजक ईर्साद अन्सारी लगायत बढी सङ्ख्यामा नगरवासी सहभागि थिए ।
राजविराज नगरपालिका स्थापनाकालदेखि नै नगरको मुख्य सडक मेनरोड तथा भित्री सडकको दायाँ–बायाँ रहेका ५ हजार २ सय परिवार वर्षौदेखि लालपुर्जा नपाएको र नगरपालिकाबाट नक्सापास तथा मालपोत कार्यालयबाट विगत ८ वर्षदेखि रोक्का प्रकृया बन्द गरिएपछि मार्कामा परेका छन् ।
जग्गा वापत नगरपालिकाबाट पाएको बिटौरी रसिदका आधारमा बसोबास तथा विगतमा समस्या परेका बेला सोही बिटौरी रसिदमा उल्लेखित जग्गा बैंक तथा वित्तिय संस्थामा धितो राखी ऋणकर्जा लिने गरेका उनीहरु अहिले सो सेवा सुविधाबाट बञ्चित भएका छन् ।
संघर्ष समितिले ब्लक र बिटौरी जग्गाको लालपुर्जाका साथै राजविराज बसपार्क अविलम्व संचालन, हटियामा निर्माणाधीन व्यवसायिक कम्पलेक्सको निर्माण कार्य अविलम्व सकाएर व्यवसायीलाई हस्तान्तरण, नाका क्षेत्रमा वर्षौ देखि बन्द रहेका छोटी भन्सार कार्यालयहरूको पुनर्सञ्चालन लगायतका ८ बुँदे माग अघि सार्दै विगत २ महिना देखि आन्दोलित छन् ।
तर सरोकारवाला निकायले माग सम्बोधन प्रति कुनै चासो नदेखाएकाले बाध्य भई आन्दोलनलाई निरन्तरता दिइएको संघर्ष समितिका संयोजक इरसाद अन्सारीको बताए ।
दोस्रो चरणको आन्दोलनका कार्यक्रम अनुसार नगरका घर र पसल पसलमा कालो झण्डा झुण्डयाउने, मागका पक्षमा हस्ताक्षर सङ्कलन अभियान, सरोकारवाला कार्यालयमा धर्ना लगायतका विरोधका कार्यक्रम गरिरहेको छ । यस्तै संघर्ष समितिले बैशाख २४ गते नगरवासीको वृहत भेलाबाट तेस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गर्ने जनाएको छ ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |