राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेश समितिले सप्तरीका पत्रकार सौरभ यादवमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शनिबार जारी प्रेस विज्ञप्तिमा प्रदेश अध्यक्ष बालकिशोर यादवले राजविराजमा दिनदहाडै भएको घटनाको तीव्र निन्दा गर्दै दोषीमाथि तत्काल कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् ।
विज्ञप्तिमा पत्रकार तथा सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दै घटनामा संलग्न आक्रमणकारीलाई अविलम्ब पक्राउ गरी कानुनी दायरामा ल्याउन जोड दिइएको छ ।
शुक्रबार बिहान करिब १०:४२ बजे राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको दक्षिणी गेट अगाडि पत्रकार यादवमाथि तीन जनाको समूहले चक्कु, बेल्ट र हेलमेट प्रयोग गरी प्रहार गरेका थिए ।
पीडित यादवका अनुसार छिन्नमस्ता गाउँपालिका–१, वीरपुरका कृष्णनाथ यादव (उर्फ क्याप्टेन), राजविराज–११ का राजु यादव र विष्णुपुर गाउँपालिका–७ का राजबाबु झा आक्रमणमा संलग्न थिए।
आक्रमणमा संलग्नमध्ये राजविराज–११ का ३२ वर्षीय राजु यादवलाई पक्राउ गरिएको छ भने अन्य आक्रमणकारीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |