







Memo Khabar 
सप्तरी । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीले महुलीमा पत्रकार सम्मेलन आयोजना गर्दै लघुवित्त संस्थाहरूले आतंक मच्चाएको आरोप लगाउँदै तिनको खारेजीको माग गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिका सदस्य सिलम यादवले रुपनीस्थित ज्योति विकास बैंक शाखाले सेवा शुल्क तथा बीमाको नाममा रकम कटौती गर्दै व्यापक वित्तीय शोषण गरेको आरोप लगाए । उनका अनुसार बैंकहरूले कर्जाग्राहीहरूलाई अनावश्यक आर्थिक बोझ थोपरेर लुटतन्त्र मच्चाइरहेका छन् ।
त्यसैगरी संघर्ष समितिका केन्द्रीय प्रशिक्षण विभागका युवराज रसाइलीले समूहको नाममा लघुवित्त तथा बैंकहरूले ऋणीहरूलाई अनावश्यक दुःख दिने गरेको गुनासो गरे । उनले ऋणी मात्र होइन, साक्षीसम्मलाई समेत कालोसूचीमा राख्ने कार्य आपत्तिजनक रहेको बताए ।
समितिले गरिबी न्यूनीकरणका लागि स्थापना गरिएका लघुवित्त संस्थाहरूले उल्टै गरिबलाई सुकुम्बासी बनाउँदै पैसाको व्यापारमा केन्द्रित भएको आरोप लगाएको छ । यस्ता संस्थाहरूले सामाजिक उद्देश्यभन्दा नाफालाई प्राथमिकता दिँदा आम नागरिक शोषणमा परेको समितिको ठहर छ ।
संघर्ष समितिले वित्तीय शोषण तत्काल रोक्न, पीडितलाई राहत दिन र लघुवित्त संस्थाहरूको गतिविधिमाथि कडा निगरानी गर्न सरकारसँग माग गरेको छ ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |