







Memo Khabar 
जनकपुरधाम । खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको छ ।
बुधबार मधेश प्रदेश खेलकुद परिषद्, जनकपुरधामस्थित कभर्ड हलमा आयोजित कार्यक्रममा खेलकुद तथा समाज कल्याण मन्त्री बसन्त कुमार कुशवाहा, नेपाल क्रिकेट संघका सचिव तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठले संयुक्त रूपमा कार्यक्रम उद्घाटन गरेका हुन् ।
वेल्थङ्गरहिल्फे र सबल नेपालको साझेदारीमा सञ्चालित ‘तराई–मधेश क्षेत्रमा खानेपानी, सरसफाइ तथा स्वच्छता प्रणाली सुदृढीकरण परियोजना’ अन्तर्गत महिनाव्यापी रूपमा स्वास्थ्य, सामुदायिक तथा व्यक्तिगत सरसफाइसम्बन्धी सचेतना प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ। सोही अवसरमा क्रिकेटमार्फत किशोरीहरूको सहभागिता र सामाजिक सक्रियता अभिवृद्धि गर्ने उद्देश्यले तयार गरिएको क्रिकेट तथा खानेपानी–सरसफाइ खेल मार्गदर्शन पुस्तिका पनि सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघका सचिव पारस खड्काले कोभिड–१९ महामारीको समयमा देखिएको स्वास्थ्य तथा सरसफाइप्रतिको चेतनालाई क्रिकेटसँग जोडेर अझ प्रभावकारी ढंगले अघि बढाइएको बताए । यस पहलले विशेषगरी महिला क्रिकेट र नयाँ खेलाडीलाई मार्गदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्दै उनले कार्यक्रम सफलताको कामना गरे ।
खेलकुद तथा समाज कल्याण मन्त्री बसन्त कुमार कुशवाहाले खानेपानी, सरसफाइ र स्वच्छता अभियानमा क्रिकेटमार्फत युवाहरूको सहभागिता बढाउनु सन्देशमूलक र प्रभावकारी रहेको उल्लेख गरे । आगामी दिनमा नेपाल क्रिकेट संघसँगको समन्वयमा प्रदेश तथा जिल्लास्तरमा यस्ता कार्यक्रमहरू विस्तार गरिने जानकारीसमेत उनले दिए ।
प्रदेशस्तरीय उद्घाटनसँगै सिरहा जिल्लाको कर्जन्हा नगरपालिकास्थित फूलकुमारी महतो माध्यमिक विद्यालय, बन्दीपुरमा पनि कार्यक्रम औपचारिक रूपमा सञ्चालन गरिएको थियो । सो अवसरमा मार्गदर्शन पुस्तिकाको आधारमा किशोरीहरूसँग प्रदर्शनी अभ्यास खेल खेल्दै कार्यक्रमको सुरुवात गरिएको थियो ।
कार्यक्रमकै क्रममा सबल नेपाल र मधेश प्रदेश क्रिकेट संघबीच पाँच लाख रुपैयाँ बराबरको सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा सबल नेपालका कार्यकारी निर्देशक दीपक कुमार झा र मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार क्रिकेट फर वास कार्यक्रम प्रवर्द्धन गरिने जनाइएको छ ।
कर्जन्हा नगरपालिकाका नगरप्रमुख भोला प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल क्रिकेट संघका सदस्य तथा राष्ट्रिय प्रतियोगिता सञ्चालन परिषद् सदस्य सुदीप शर्मा, मधेश प्रदेश क्रिकेट संघका सचिव आयुष श्रेष्ठ, धनुषा क्रिकेट संघका अध्यक्ष शोभाकान्त पाण्डे, पर्सा जिल्ला क्रिकेट संघका अध्यक्ष मनिष सिंह, राष्ट्रिय क्रिकेट टोलीका छनोटकर्ता मुर्तुजा हवारीलगायतको उपस्थिति रहेको थियो ।
क्रिकेटको माध्यमबाट मधेश प्रदेशका किशोरीहरूले सामाजिक सचेतनामा योगदान पुर्याउने विश्वास व्यक्त गर्दै प्रमुख अतिथि पारस खड्काले यस अभियानले भविष्यमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि सक्षम खेलाडी उत्पादन गर्ने सम्भावना बढाउने बताए ।
मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनील महासेठले यस कार्यक्रमले विशेषगरी महिला क्रिकेट प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने र प्रदेशमा नयाँ महिला खेलाडी उत्पादनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।
क्रिकेटलाई सरसफाइ र स्वच्छतासँग जोडेर अघि बढाइएको यस अभियानप्रति सहभागी किशोरी तथा युवा खेलाडीहरूले खुसी व्यक्त गरेका छन् । सबल नेपालका कार्यकारी निर्देशक दीपक कुमार झाले स्थानीय स्तरमै कार्यक्रम आयोजना हुँदा खेलाडीहरूको आत्मविश्वास र सामाजिक जिम्मेवारी दुवै बढेको बताए ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |