राजविराज । राजविराज नगरपालिका–२ स्थित सार्वजनिक स्वामित्वकोजग्गामा मुस्लिम समुदायका लागि स्थायी संरचना निर्माण गर्न नगरपालिकाले बजेट विनियोजन गरेको भन्दै विश्व हिन्दु परिषद नेपालले आपत्ति जनाएको छ ।
शुक्रबार परिषदका पदाधिकारीहरूले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाउँदै, सो स्थान संरक्षण गर्न माग गरेका हुन् । परिषदको नेतृत्व जिल्ला अध्यक्ष केशवकुमार सिंह र सचिव विष्णुदेव चौधरीले गरेका थिए ।
ज्ञापनपत्रमा उल्लेख अनुसार, राजविराज–२ स्थित गुलाब ग्यारेजअगाडिको सार्वजनिक जग्गा विगत लामो समयदेखि खेलमैदानको रूपमा प्रयोग हुँदै आएको छ । सो मैदानमा नियमित रूपमा भलिबल प्रतियोगिता तथा अन्य खेल गतिविधिहरू सञ्चालन हुँदै आएको जनाइएको छ ।
मुस्लिम समुदायलाई मोहर्रमको अवसरमा केही दिनका लागि अस्थायी रूपमा सो स्थान प्रयोग गर्न सहमति भए तापनि, अहिले स्थायी संरचना निर्माण गर्न खोजिएकोमा परिषदले आपत्ति जनाएको छ ।
“राजविराज नगरपालिकाले मुस्लिम समुदायका लागि सोही स्थानमा स्थायी संरचना निर्माण गर्न रु ५ लाख बजेट विनियोजन गरेको जानकारी प्राप्त भएको छ,” परिषदको ज्ञापनपत्रमा भनिएको छ, “तर सो जग्गा सार्वजनिक स्वामित्वको भएकोले सबै धर्मावलम्बीले आफ्ना धार्मिक तथा सांस्कृतिक गतिविधिहरू स्वतन्त्र रूपमा सञ्चालन गर्न पाउनुपर्ने व्यवस्था आवश्यक छ ।”
परिषदले २०८२ असार २० गते जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकको निर्णय स्मरण गराउँदै, “उक्त स्थानमा कुनैपनि स्थायी भौतिक संरचना निर्माण नगर्नु पर्ने निर्णय भएको स्पष्ट छ,” भनिएको छ ।
ज्ञापनपत्रमा प्रशासनलाई चेतावनी दिँदै भनिएको छ, “सर्वदलीय निर्णयको कार्यान्वयनमा अवरोध आउने अवस्था सिर्जना भएमा त्यसबाट उत्पन्न हुने सम्भावित तनाव तथा क्षतिको सम्पूर्ण जिम्मेवारी प्रशासन स्वयंले लिनुपर्नेछ ।”
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |