







Memo Khabar 
 
 राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिका–२ भेडिया नजिक गाईघाट–कदमाहा सडकखण्डमा सोमबार राति चेकजाँचका क्रममा प्रहरीले २३ लाख रुपैयाँ नगदसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ ।
राति करिब ८:५० बजे दक्षिण कदमाहा दिशाबाट गाईघाटतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ५००८ नम्बरको सेतो टोयोटा हाईलेक्स गाडी शंका लागेपछि रोकी तलासी गर्दा भित्र दुई जना पुरुष सवार रहेको पाइएपछि उनीहरूको परिचय सोधिएको प्रहरीले जनाएको छ ।
चालक झापा दमक नगरपालिका–५ का २७ वर्षीय किरण सिटौला र सोही गाडीको अगाडिको सिटमा बसिरहेका १८ वर्षीय धिरज प्रसाई रहेको पुष्टि भएपछि कानून बमोजिम शरीर तथा गाडीको तलासी गरिएको थियो ।
तलासी क्रममा उनीहरू सवार गाडीमा लुकाइ राखिएको कपडाको झोलाबाट एक हजार दरका १ हजार ३ सय ९९ थान तथा गाडीको अगाडिको आर्मरेस्ट र ग्लोभ बक्सबाट पाँच सय दरका १ हजार ८ सय २ थान रकम फेला परेको प्रहरीले जनाएको छ। यसरी बरामद नगदको मूल्य जम्मा २३ लाख रुपैयाँ बराबर हुने बताइएको छ।
त्यसै गरी गाडीभित्र विद्युतीय उपकरण तथा पार्टपुर्जाहरू समेत फेला परेका छन् । ती सामग्रीमा हावाभर्ने १०० थान पम्प, टेन्ह लेखिएका ३४ थान ब्याट्री, एक थान लिथियम ब्याट्री, तीन थान ई–रिक्सा मोटर, सात थान स्कुटर ब्याट्री चार्जर, एक थान ब्याट्री टेस्टर र एक थान सानो हर्न–स्पिकर समावेश छन् ।
अनधिकृत रूपमा ठूलो परिमाणको नगद र सामग्री ओसारपसार गरेको आशंकामा दुुवैलाई नियन्त्रणमा लिएर बैंक तथा वित्तीय संस्था सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा जिल्ला अदालत सप्तरीबाट तीन दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |