







भूषण सिहं 
राजिवराज । सप्तरी जिल्लाको गौरव र धरोहरको रूपमा रहेको गजेन्द्र नारायण सिंह अस्पताल विवादमा तानिएको छ । अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट (मेसु) प्रकाश प्रसाद साहविरुद्ध अनैतिक गतिविधि र व्यापक भ्रष्टाचारको आरोप सार्वजनिक भएपछि युवाहरू आन्दोलित भएका छन् ।
बिहीबार प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा विभिन्न विद्यार्थी संगठन र युवाहरूले मेसु साहले अस्पतालमा अनुशासनविपरीत र समाजविरोधी कार्यहरू गर्दै आएको आरोप लगाएका छन् । उनीमाथि नारीको चरित्र हत्या, जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव, अस्पतालका उपकरण र औषधि खरिदमा ठूलो मात्रामा आर्थिक अनियमितता गरेको जस्ता आरोप लगाइएको छ ।
विद्यार्थी र युवाहरूले बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ कि अस्पतालका एक नर्सिङ स्टाफलाई जागिरको प्रलोभन दिँदै अनैतिक प्रस्ताव गरेको अडियो सार्वजनिक भइसकेको छ । पिडितको भनाइअनुसार यस्तै प्रस्ताव अन्य महिलाहरूसँग पनि गरिएको बताइएको छ । साथै, १७ जना स्टाफ नर्सको नियुक्तिमा प्रतिव्यक्ति एक लाख पचास हजार रुपैयाँ उठाएको, पहिलो चरणमै ४० जनाभन्दा बढीको नियुक्ति गरेको र औषधि तथा उपकरण खरिदमा करोडौँ रुपैयाँको हेरफेर भएको दाबी गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अस्पतालमा भएको औषधि खरिद र टेण्डर प्रक्रियासम्बन्धी उजुरी दर्ता गरी छानबिन अघि बढाइसकेको उल्लेख गरिएको छ ।
युवाहरूले चरित्रहीन र भ्रष्ट आचरण प्रदर्शन गर्ने अधिकारीले पवित्र स्वास्थ्य संस्थाको मर्यादा र विश्वसनीयता ध्वस्त पारेको भन्दै तुरुन्तै कानुनी कारबाही गर्न माग गरेका छन् ।
संगठनहरूले यस्तो चरित्रहिन र भ्रष्ट आचरणले अस्पताल जस्तो पवित्र संस्थाको मर्यादामा आघात पुगेको भन्दै दोषीलाई कानूनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् । उनीहरूले सत्यतथ्य छानबिन गरी न्यायोचित निर्णय नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |