







चन्दन यादब 
राजविराज । हिन्दु धर्ममाथि आपत्तिजनक टिप्पणी गरिएको तथा राष्ट्रिय बजरंग दल सप्तरीका अध्यक्ष आकाश यादवमाथि कुटपिट भएको आरोप लगाउँदै हिन्दुवादी संगठनहरूले राजविराज बजार बन्द गराएका छन् ।
राजविराज नगरपालिका वडा नं. १, रहमतपुर टोल निवासी अफरोज आलमले सामाजिक सञ्जालमार्फत भगवान श्रीकृष्णलाई लक्षित गरी अत्यन्त अश्लील, अपमानजनक तथा घृणायुक्त अभिव्यक्ति सार्वजनिक गरेको आरोप लगाउँदै कानुनी कारबाहीको माग गरिएको छ ।
राष्ट्रिय बजरंग दल, हिन्दु सम्राट सेना तथा श्रीकृष्ण जन्माष्टमी रथयात्रा आयोजक समिति सप्तरीले बुधबार संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई ज्ञापनपत्र बुझाउँदै दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका हुन् ।
यस्तै, बजरंग दलका अध्यक्ष आकाश यादवलाई अफरोज आलमको समूहले पुस ९ गते साँझ कुटपिट गरेको आरोपसमेत संगठनहरूले लगाएका छन् ।
ज्ञापनपत्रमा भगवान श्रीकृष्ण कुनै एक समुदायका मात्र नभई धर्म, मर्यादा, प्रेम, करुणा र मानव मूल्यका प्रतीक भएको उल्लेख गरिएको छ। यस्ता पवित्र आस्थामाथि गरिने तुच्छ टिप्पणीले करोडौं सनातनी श्रद्धालुहरूको धार्मिक भावना गम्भीर रूपमा आहत भएको र यसले समाजमा धार्मिक सद्भाव बिगार्ने प्रयास गरेको जनाइएको छ ।
ज्ञापनपत्रमा नेपालको संविधान, विद्यमान कानुन तथा प्रचलित फौजदारी ऐनअनुसार धार्मिक भावना आहत पार्ने, धार्मिक सद्भाव भड्काउने तथा घृणा र विभाजन फैलाउने कार्य दण्डनीय अपराध भएको स्पष्ट उल्लेख गरिएको छ।
“हामी शान्ति, सहअस्तित्व र धार्मिक सहिष्णुतामा दृढ विश्वास राख्छौं, तर धर्ममाथिको अपमान, आस्थामाथिको आक्रमण र समाजमा विष फैलाउने कार्यप्रति कुनै सम्झौता हुँदैन,” ज्ञापनपत्रमा उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई तत्काल कानुनी प्रक्रिया अघि बढाउन अनुरोध गरिएको छ ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |