







Memo Khabar 
राजविराज । सप्तरी क्रिकेट संघको आयोजनामा राजविराजमा सञ्चालन भइरहेको ईन्डो–नेपाल मैत्रीपूर्ण तीन खेलको एकदिवसीय सिरिजको उद्घाटन खेलमा सप्तरी यु–१९ क्रिकेट टिमले भारतको उत्तर प्रदेश (यूपी) स्थित पीके एकेडेमी बागपतलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
स्थानीय पविमाबि क्रिकेट मैदान, राजविराजमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको यूपीको पीके एकेडेमी यु–१९ टिमले निर्धारित ३५ ओभरको खेलमा २६ ओभरमै सबै विकेट गुमाउँदै १ सय ४ रनको योगफल बनाएको थियो । टोलीका लागि ध्रुव ठाकुरले सर्वाधिक ३५ रन तथा हमजा क्वारिसले २३ रनको योगदान दिए ।
बलिङतर्फ सप्तरीका विजय यादव, आयुष मण्डल र भिम यादवले समान २–२ विकेट लिए भने सुशान्त देव, अभिमन्यु सरदार र अजयले १–१ विकेट हात पारे ।
१ सय ५ रनको लक्ष्य पछ्याएको सप्तरी यु–१९ टिमले ११ ओभर १ बलमै ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । टोलीका लागि अमन यादवले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ४० रन बनाए । यस्तै, रितिक थापाले १४, शिव अधिकारीले १२ र भिम यादवले १० रन जोडे । बलिङतर्फ यूपीका सगनले ३ विकेट लिए भने आयुष र अक्षयले १–१ विकेट प्राप्त गरे ।
खेलको ‘प्लेयर अफ द म्याच’ सप्तरीका अमन यादव घोषित भए। उनलाई समाजसेवी रामचन्द्र यादवले कप प्रदान गरे।
यसअघि खेल सुरु हुनुअघि कोशी प्रदेशका क्रिकेट खेलाडी मीन थापाको दुर्घटनामा निधन भएको सम्झनामा खेलाडीहरूले एक मिनेट मौन धारण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए। साथै, उनको सम्झनामा सबै खेलाडीहरूले हातमा कालो पट्टी बाँधेर खेल खेलेका थिए।
उक्त अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजु बिक, सप्तरी क्रिकेट संघका जिल्ला उपाध्यक्ष निरज कुमार सिंह, सचिव चन्दनकुमार यादव, जिल्ला सदस्य शम्भु दास, संजय कार्की, गजेन्द्र माझी, धर्मेन्द्र चौधरी, अम्पायर सन्तोष देव, पत्रकार भूषण सिंहलगायतको उपस्थिति रहेको थियो ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |