







Memo Khabar 
राजविराज । मधेश प्रदेशको सप्तरी जिल्लास्थित नापी कार्यालयमा नयाँ प्रमुखको आगमनसँगै गरिएको स्वागत कार्यक्रम सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
कार्यालयका नव–नियुक्त प्रमुख शत्रुधन यादवको स्वागतमा सय किलोभन्दा बढी तौलको माला लगाइएको दृश्य सार्वजनिक भएपछि यसले प्रशासनिक मर्यादा र कार्यसंस्कृतिबारे बहस सुरु भएको छ ।
सामाजिक सञ्जालमा फैलिएको तस्वीरमा कामकाजी समयमै कार्यालय परिसरमा भव्य स्वागत गरिएको देखिन्छ । सेवाग्राहीहरू आफ्नो कामका लागि प्रतीक्षारत रहँदा स्वागत कार्यक्रमलाई प्राथमिकता दिइएको भन्दै कतिपयले आलोचना गरेका छन् ।
नापी कार्यालयजस्तो प्राविधिक तथा सेवामुखी निकायमा अतिशयोक्तिपूर्ण स्वागत कार्यक्रम उपयुक्त नहुने प्रतिक्रिया सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले जनाएका छन् । उनीहरूका अनुसार नापी कार्यालयको मुख्य जिम्मेवारी छिटोछरितो र पारदर्शी सेवा प्रवाह हो, न कि प्रदर्शनमुखी स्वागत ।
यद्यपि, केहीले नयाँ प्रमुखको स्वागत गर्नु स्वाभाविक प्रक्रिया भएको तर्क पनि गरेका छन् । तर स्वागतका नाममा गरिएको अत्यधिक प्रदर्शनले प्रशासनिक संस्कृतिमाथि प्रश्न उठाएको उनीहरूको भनाइ छ ।
यस विषयमा नापी कार्यालय वा सम्बन्धित निकायको औपचारिक प्रतिक्रिया भने आइसकेको छैन । सामाजिक सञ्जालमा उठेको आलोचनापछि अब कार्यालयको कार्यशैली र सेवाप्रवाहमा कस्तो सुधार देखिन्छ भन्ने विषयलाई सरोकारवालाहरूले चासोका साथ हेरिरहेका छन् ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |