







चन्दन यादब 
राजविराज । सप्तरीमा समुन्नती परियोजनाअन्तर्गत सञ्चालन भएका कार्यक्रमहरूको वार्षिक समीक्षा बैठक सम्पन्न भएको छ ।
शुक्रबार सेभ द चिल्ड्रेनको सहयोगमा राजविराजमा आयोजित समीक्षा बैठकमा सेभद सप्तरी, सबल नेपाल र जनचेतना अभियान नेपालले जिल्लाका विभिन्न पालिकामा सञ्चालन गरिएका कार्यक्रमहरूको उपलब्धिबारे प्रस्तुति दिएका थिए ।
सबल नेपालले खडक नगरपालिका र सुरुंगा नगरपालिकामा बाल संरक्षण तथा व्यक्तित्व विकासका क्षेत्रमा तालिम, गोष्ठी तथा वकालत कार्यक्रम सञ्चालन गरेको जनाएको छ । शिक्षा क्षेत्रमा शतप्रतिशत विद्यालय भर्ना, विद्यार्थीको नियमित उपस्थितिमा वृद्धि, शिक्षक क्षमता विकास, साक्षरता तथा गणितीय सीप अभिवृद्धिमार्फत गुणस्तरीय शिक्षामा योगदान पुर्याइएको बताइएको छ ।
यसैगरी सुरक्षित तथा हरित विद्यालय निर्माण, विद्यालय व्यवस्थापन समितिलाई सक्रिय बनाउने कार्य पनि सबल नेपालले गर्दै आएको छ । कृषिमार्फत बेरोजगार तथा विपन्न परिवारमा रोजगारी सिर्जना गर्नुका साथै ती परिवारका बालबालिकाको विद्यालय पहुँच वृद्धि, बालमैत्री विद्यालय निर्माण, शतप्रतिशत भर्ना घोषणा, बालविवाहमुक्त नगरपालिका निर्माण, शून्य होम डेलिभरी सुनिश्चितता तथा शिक्षा र स्वास्थ्यसम्बन्धी नीति निर्माणमा सहयोग गरिएको सबल नेपालका फिल्ड म्यानेजर रोशन मण्डलले जानकारी दिए ।
सेभद सप्तरीले विष्णुपुर, छिन्नमस्ता, तिलाठी कोइलाडी गाउँपालिका तथा राजविराज नगरपालिकामा शिक्षा, स्वास्थ्य, जीविकोपार्जन र बाल संरक्षणका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । शिक्षामा शतप्रतिशत भर्ना अभियान, अपाङ्गमैत्री शौचालय निर्माण, हात धुने स्थान, कक्षाकोठा मर्मतसम्भार, बसाइ व्यवस्थापन, शिक्षा क्षमता अभिवृद्धि तथा हरित, सफा र सुरक्षित विद्यालय घोषणा कार्यक्रम सञ्चालन गरिएको सेभद सप्तरीले जनाएको छ ।
सेभद सप्तरीका अध्यक्ष ध्रुव देवका अनुसार जिल्लाको छिन्नमस्ता गाउँपालिकालाई बालविवाहमुक्त पालिका घोषणा गरिसकिएको छ । साथै विष्णुपुर गाउँपालिकाका वडा नम्बर १, २ र ३ तथा तिलाठी कोइलाडी गाउँपालिकाका वडा नम्बर ३ देखि ८ सम्मलाई बालविवाहमुक्त वडा घोषणा गरिएको जानकारी दिए ।
त्यसैगरी जनचेतना अभियान नेपालले जिल्लाको हनुमाननगर कंकालनी नगरपालिकाका वडा नम्बर १ र ४ मा स्वास्थ्य, शिक्षा, जीविकोपार्जन तथा बाल संरक्षणका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
जनचेतना अभियान नेपालका कार्यक्रम संयोजक घुरण यादवका अनुसार बाल विकास केन्द्रको व्यवस्थापन, १४५ जना सदा समुदायका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण, २० जना सदा समुदायका युवा महिलालाई साना उद्यम विकास तालिम, २५ जना बाल शिक्षकलाई क्षमता विकास तालिम तथा २४ वटा विद्यालयका स्वास्थ्य फोकल शिक्षकलाई क्षमता विकास तालिम प्रदान गरिएको छ ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |