







Memo Khabar 
राजविराज । तिलाठी कोइलाडी गाउँपालिकामा योजना कार्यान्वयन र आन्तरिक राजश्व व्यवस्थापनमा गम्भीर समस्या देखिएको भन्दै स्थानीय तहका जनप्रतिनिधिहरूमाथि आरोप उठेको छ । सामाजिक सञ्जाल फेसबुकमा प्रेस जनमत संघका केन्द्रीय अध्यक्ष अवधेश झाले लेखेको टिप्पणीले पालिकाभित्रको आन्तरिक विवाद र अव्यवस्थालाई सार्वजनिक गरेको छ ।
झाले आफ्नो फेसबुक वालमार्फत तिलाठी कोइलाडी गाउँपालिकाका जनप्रतिनिधिहरूलाई ‘सर्वोत्कृष्ट’ घोषणा गरेर पुरस्कृत गर्नुपर्ने व्यंग्यात्मक प्रस्ताव गर्दै पालिकामा योजना–योजनाको खेलले संकट उत्पन्न भएको उल्लेख गरेका छन् । उनका अनुसार करिब ५० लाख रुपैयाँसम्म आन्तरिक आय हुने तोपा मवेशी हाटलाई लथालिङ्ग बनाइ अमानतमार्फत कर उठाइँदै आएको छ, जसले राजश्व संकलन प्रक्रिया अपारदर्शी बनेको छ ।
उनको आरोपअनुसार उपाध्यक्षले अन्य जनप्रतिनिधिहरूका योजनाको अनुगमन नगरेपछि त्यसको प्रतिक्रिया स्वरूप अन्य जनप्रतिनिधिहरूले पनि उपाध्यक्षका योजनाको भुक्तानीमा निर्णय गरी रोक लगाएका छन् । योजना पालिका र वडाको साझा भए पनि जनप्रतिनिधिहरूबीच आपसी द्वन्द्वका कारण काम प्रभावित भएको उनको भनाइ छ ।

झाले उपाध्यक्षका योजनाको भुक्तानी रोकिएपछि राजश्व परामर्श समितिको बैठकसमेत नगरी लाखौँ आन्तरिक राजश्व आउने तोपा मवेशी हाटको ठेक्का विषयलाई बार्गेनिङको माध्यम बनाइएको आरोप पनि लगाएका छन् ।
उनको पोस्टमा पालिकाभित्र अध्यक्ष पक्ष, उपाध्यक्ष पक्ष, केही वडाध्यक्ष तथा कर्मचारीहरू अलग–अलग समूहमा विभाजित भई योजना–योजनाको खेललाई चरम सीमामा पुर्याएको उल्लेख छ । यसले समग्र पालिकाको विकास र सुशासनमा गम्भीर असर परिरहेको भन्दै उनले सरोकारवालाहरूको ध्यानाकर्षण गराएका छन् ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |