







चन्दन यादब 
राजविराज । पाठेघरको मुखको क्यान्सर तथा यसको निवारणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विद्यालय केन्द्रित नियमित एचपीभी ( एचपीभी) खोप कार्यक्रम सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न भएको छ ।
स्वास्थ्य कार्यालय सप्तरीको आयोजनामा बिहीबार जिल्ला खोप समन्वय समिति तथा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया तथा समन्वय बैठक आयोजना गरिएको हो । बैठकको उद्देश्य विद्यालय केन्द्रित नियमित एचपीभी खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्नु रहेको आयोजकले जनाएको छ ।
बैठकलाई सम्बोधन गर्दै स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख डा. सतिश कुमार यादवले पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाको मृत्युका प्रमुख कारणमध्ये एक रहेकाले यसको रोकथाम अत्यन्त आवश्यक रहेको बताए । उनले सन् २०३० सम्म पाठेघरको मुखको क्यान्सर निवारण गर्ने राष्ट्रिय लक्ष्य रहेको उल्लेख गर्दै त्यस लक्ष्य हासिल गर्न एचपीभी खोप कार्यक्रम महत्वपूर्ण आधार भएको बताए ।
डा. यादवका अनुसार पाठेघरको मुखको क्यान्सरबाट हुने मृत्युमध्ये ठूलो हिस्सा न्यून तथा मध्यम आय भएका देशहरूमा देखिने गरेको छ । नेपालमा पनि हरेक दिन औसत चार जना महिलाको मृत्यु यसै रोगका कारण हुने तथ्यांक रहेको उनले जानकारी दिए । यस्तो अवस्थामा सञ्चारकर्मीमार्फत सही, सकारात्मक र तथ्यपरक सन्देश प्रवाह गर्न सके समुदायमा खोपप्रति विश्वास बढ्ने र राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।
बैठकमा जिल्ला समन्वय समिति प्रमुख शिव नारायण साह, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, जिल्ला समन्वय समिति उपप्रमुख शम्भु यादव, जिल्ला समन्वय अधिकारी कुन्दन कर्ण लगायतको उपस्थिति रहेको थियो । वक्ताहरूले विद्यालय केन्द्रित खोप कार्यक्रम सफल बनाउन स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्था र सञ्चारकर्मीबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिएका थिए ।
सो अवसरमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) की प्रतिनिधि सरला न्यौपानेले पाठेघरको मुखको क्यान्सर, एचपीभी संक्रमण, खोपको प्रभावकारिता तथा नेपाल सरकारले सञ्चालन गरिरहेको राष्ट्रिय खोप कार्यक्रमबारे विस्तृत प्रस्तुति दिएकी थिइन् । उनले एचपीभी खोप विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त, सुरक्षित र प्रभावकारी रहेको स्पष्ट पार्दै किशोरी अवस्थामा खोप लगाउँदा भविष्यमा पाठेघरको मुखको क्यान्सरको जोखिम न्यून हुने बताइन् ।
स्वास्थ्य कार्यालय सप्तरीका अनुसार जिल्लाभर विद्यालय, स्वास्थ्य संस्था तथा बाह्य खोप केन्द्र गरी कुल ५८० वटा खोप केन्द्रमार्फत ९ हजार ७८९ जना किशोरीलाई एचपीभी खोप प्रदान गरिनेछ ।
सप्तरी जिल्लामा पाठेघरको मुखको क्यान्सर विरुद्धको नियमित एचपीभी खोप अभियान २०८२ माघ २५ गतेदेखि फागुन १० गतेसम्म दुई चरणमा सञ्चालन गरिने तयारी गरिएको छ ।
पहिलो चरणअन्तर्गत माघ २५ गतेदेखि छिन्नमस्ता गाउँपालिका, राजगढ गाउँपालिका, डाक्नेश्वरी नगरपालिका, बोदैवर्सइन नगरपालिका, बलानबिहुल गाउँपालिका, सुरुङ्गा नगरपालिका, खडक नगरपालिका, शम्भुनाथ नगरपालिका र रुपनी गाउँपालिका गरी ९ वटा पालिकामा खोप अभियान सञ्चालन भइरहेको छ ।
त्यसैगरी दोस्रो चरणअन्तर्गत माघ २८ गतेदेखि सप्तकोशी नगरपालिका, कञ्चनरुप नगरपालिका, तिरहुत गाउँपालिका, अग्निसाइर कृष्णसवरन गाउँपालिका, महादेवा गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका र राजविराज नगरपालिका सहित ९ वटा पालिकामा खोप कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार विद्यालय नजाने १०–१४ वर्ष उमेर समूहका किशोरी तथा विद्यालयमा अध्ययनरत कक्षा ६ मा अध्ययनरत सबै किशोरीलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिनेछ ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले पाठेघरको मुखको क्यान्सर निवारणमा मिडियाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सत्य, तथ्यपरक र जनमैत्री सन्देश प्रवाहमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |