







चन्दन यादब 
राजविराज । सप्तरीको राजविराजमा जारी जिल्ला स्तरिय इन्टर हब टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलहरूमा सिरहा र मोरङ विजयी भएका छन् ।
मंगलवार भएको पहिलो खेलमा सिरहाले धनुषालाई ९ विकेटले पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ भने दोस्रो खेलमा मोरङले सप्तरीलाई ५ विकेटले हराउँदै लगातार जितको क्रम कायम राखेको छ ।
पहिलो खेलमा सिरहाले टस जिती धनुषालाई ब्याटिङका लागि आमन्त्रण गरेको थियो। धनुषाले १४ ओभर १ बलमा सबै विकेट गुमाउँदै ४० रनको सानो लक्ष्य प्रस्तुत गरेको थियो ।
जवाफमा सिरहाले ५ ओभर ६ बलमा मात्र १ विकेट गुमाएर सहज जित दर्ता गरेको हो । खेलकी प्लेयर अफ द म्याच सिरहाकी बिपना राय घोषित भइन् ।
त्यस्तै दोस्रो खेलमा मोरङले सप्तरीलाई ५ विकेटले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको सप्तरीले २० ओभरमा ८ विकेटको क्षतिमा ८७ रनको योगफल तयार पारेको थियो । जवाफमा मोरङले १६ ओभर २ बलमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । उक्त खेलकी प्लेयर अफ द म्याच मोरङकी बन्दना राजबंशी घोषित भइन्, कार्यक्रम संयोजक रोशन मण्डलले जानकारी दिए ।
उक्त अवसरमा दुवै खेलकी ‘प्लेयर अफ द म्याच’ खेलाडीहरूलाई राजविराज नगरपालिका–५ का वडा सदस्य सन्तोष मण्डल र सप्तरी क्रिकेट सङ्घका सदस्य मनोज साहले पुरस्कार तथा ट्रफी प्रदान गरेका थिए ।
भोलिको पहिलो खेल सिरहा र मोरङबीच तथा दोस्रो खेल सप्तरी र धनुषाबीच हुने तय भएको छ ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |