







चन्दन यादब 
राजविराज । नेपाल खानेपानी संस्थान राजविराज शाखा कार्यालयमा जेनजी समूहका युवाहरूले पुनः तालाबन्दी गरेका छन् । गत कात्तिक ३० गते गरिएको तालाबन्दी प्रहरीले २४ घण्टा नबित्दै मंसिर १ गते बल प्रयोग गरी खोलिदिएपछि असन्तुष्ट बनेका युवाहरूले बुधबार पुनः ताल्चा लगाएका हुन् ।
जेनजी समूहका अगुवाहरूका अनुसार खानेपानी संस्थानलाई योजनाबद्ध रूपमा कमजोर पार्ने गतिविधि भइरहेकाले सुधारका लागि दबाबस्वरूप तालाबन्दी गर्नुपरेको हो । उनीहरूका अनुसार कार्यकुशल मानिएका निमित्त प्रमुख राजाराम यादवलाई सरुवा गरी संस्थानलाई नेतृत्वविहीन बनाउने प्रयास भइरहेको छ, जसले कार्यालयको नियमित सेवा–सुविधा प्रभावित भएको छ ।
यसअघि तालाबन्दी तोडिएको घटनापछि जेनजी समूहका युवाहरूले मंगलबार प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी प्रमुख एसपीविरुद्ध नाराबाजी गर्दै प्रदर्शनसमेत गरेका थिए । प्रशासनले ‘जबर्जस्ती’ गरेको आरोप लगाउँदै उनीहरूले जनभावना विपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने चेतावनी दिएका छन्।
युवाहरूको आरोपअनुसार पहुँच र चलखेलका आधारमा कर्मचारी सरुवा हुँदा नगरवासीले गुणस्तरीय सेवा पाउन मुस्किल भएको छ। १८ वर्षदेखि कार्यालयमा ‘डेरा जमाएर बसेका’ केही कर्मचारीको दबाबमा प्रशासनले नयाँ पुस्ताको अपमान गरेको आरोप पनि उनीहरूले लगाएका छन् ।
शान्तिपूर्ण रूपमा राखिएको माग सम्बोधन नभए थप सशक्त आन्दोलनमा जान बाध्य हुने चेतावनी समूहले दिएको छ ।
यसअघि कात्तिक २८ गते जेनजी समूहका प्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल खानेपानी संस्थान त्रिपुरेश्वर, काठमाडौंलाई ज्ञापनपत्र बुझाउँदै कार्यालय प्रमुख राजाराम यादवलाई यथावत राख्न माग गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बोधार्थ पठाइएको सो ज्ञापनपत्रमा जनभावना विपरीत गतिविधि भए आन्दोलन उग्र बनाउनुपर्ने चेतावनीसमेत समावेश छ ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |