







Memo Khabar 
राजविराज । सप्तरीको बलान बिहुल गाउँपालिकामा कडाकेको जाडोबाट प्रभावित विपन्न समुदायका एक सय जनालाई न्यानो कम्बल वितरण गरिएको छ ।
बुधबार गाउँपालिकाको सभाहलमा जिल्ला प्रशासन कार्यालय राजविराजको सहयोग तथा बलान बिहुल गाउँपालिकाको सहकार्यमा कम्बल वितरण कार्यक्रम आयोजना गरिएको हो । जाडोका कारण दैनिकी कठिन बन्दै गएको अवस्थामा कम्बल वितरणले प्रभावित परिवारलाई उल्लेखनीय राहत पुगेको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले कठ्याङ्ग्रिँदो जाडोले जनजीवन प्रभावित बनाएको उल्लेख गर्दै यस्ता राहत कार्यक्रमले विपन्न समुदायलाई तत्काल सहारा प्रदान गर्ने बताए ।
बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मुसहर, सदा, पासवानलगायतका समुदायका अत्यन्त विपन्न परिवारहरूलाई कम्बल वितरण गरिएको जानकारी दिए । ती समुदायहरू कठिन परिस्थितिमा जीवनयापन गरिरहेका बेला गाउँपालिकाले मानवीय दायित्वअनुसार सहयोग गरेको उनले बताए ।
अध्यक्ष यादवले भने, “समुदायको पीडा हाम्रो पीडा हो। सेवा केवल कार्यक्रम होइन, निरन्तर प्रतिबद्धता हो ।” उनले आगामी दिनमा पनि यस्ता मानवीय कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे ।
कम्बल वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक रोशनकुमार बुढाथोकी, राष्ट्रिय अनुसन्धान कार्यालय राजविराजका उपनिर्देशक कुलचन्द्र न्यौपाने, बलान बिहुल गाउँपालिका वडा नं. १ का अध्यक्ष रामकुमार यादव तथा पत्रकार चन्दनकुमार यादवलगायतको उपस्थिति रहेको थियो ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |