







Memo Khabar 
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच एकीकरण सम्बन्धी औपचारिक सम्झौता भएको छ ।
दुवै पार्टीबीच २०८२ पौष १३ गते सहमति भई एकीकरण गर्ने संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको थियो, सोही विज्ञप्तिलाई आधार मानी एकीकरण प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।
सम्झौताअनुसार एकीकरणपछि पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल नै कायम रहनेछ भने पार्टीको चुनाव चिन्ह छाता नै रहनेछ । पार्टीको झण्डा तीन रङ्गको हुनेछ, जसमा माथिल्लो भाग रातो, बीचमा सेतो र तल्लो भाग हरियो रहनेछ। झण्डाको बीच भागमा ढल्किएको छाता अंकित गरिनेछ ।
एकीकृत पार्टी सञ्चालनका लागि ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिनेछ । सो समितिले आफ्नै सदस्यहरूमध्येबाट ११ सदस्यीय सचिवालय गठन गर्नेछ। दुवै पार्टीका केन्द्रीय समिति समायोजन नभएसम्म केन्द्रीय समन्वय समिति नै पार्टीको संगठन सञ्चालन, परिचालन, निर्देशन तथा निर्णायक निकायका रूपमा रहनेछ ।
सम्झौताअनुसार जसपा नेपाल र लोसपा नेपाल मातहत रहेका सबै तहका संगठन, भ्रातृ संगठन, शुभेच्छुक संगठन, विभाग तथा संयन्त्रहरू जनता समाजवादी पार्टी, नेपालको मातहतमा रही केन्द्रीय समन्वय समितिको निर्णयअनुसार क्रियाशील रहनेछन् । संगठनात्मक समायोजन नभएसम्म आ–आफ्नो स्थान र कार्यक्षेत्रमा पार्टीको मातहत रही गतिविधि सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
यस्तै, २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभाको उम्मेदवारका लागि पेश गरिने मनोनयन पत्रमा केन्द्रीय समन्वय समितिको निर्णयअनुसार महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रूपमा हस्ताक्षर गर्ने सहमति पनि भएको छ ।
दुवै पार्टीको एकीकरणसँगै मधेश केन्द्रित राजनीति थप एकीकृत र सुदृढ हुने अपेक्षा गरिएको छ ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |