







चन्दन यादब 
राजविराज । सप्तरी क्रिकेट संघको आयोजनामा तथा सबल नेपालको सहकार्यमा राजविराजमा सम्पन्न मैत्रीपूर्ण महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौले जितेको छ ।
मंगलबार राजविराजस्थित पविमावि क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सप्तरी महिला टिमले ३० ओभरमा ८ विकेट गुमाउँदै १०३ रन बनायो । सप्तरीका लागि साक्षी देवले १७, आयुष्का थापाले १५ र जेनिषा मगरले ११ रन जोडिन् ।
लक्ष्य पछ्याएको काठमाण्डौले उत्कृष्ट प्रदर्शन गर्दै १८ ओभरमै बिना विकेट गुमाई लक्ष्य पूरा गर्यो र १० विकेटको फराकिलो जितसहित उपाधि हात पार्यो। काठमाण्डौको जितमा सविका यादव र प्रथा श्रेष्ठले अविजित ८२ रनको साझेदारी गरे । सविकाले अर्धशतकीय ६५ रन बनाउँदा प्रथाले १७ रन अविजित जोडिन् ।
बलिङतर्फ काठमाण्डौकी अनुषा रोकाले ४ विकेट लिइन् भने यसु पाण्डे, आयुष्मा रावल, सरिष्मा खनाल र एली यादवले समान १–१ विकेट लिए ।
सिरिजको प्लेयर अफ द सिरिज काठमाण्डौकी अनुषा रोका घोषित भइन्। बेस्ट बलर सप्तरीकी सुस्मिता यादव र बेस्ट ब्याटर काठमाण्डौकी सविका यादव घोषित भइन् ।
पुरस्कार वितरण कार्यक्रममा सप्तरी क्रिकेट संघका उपाध्यक्ष निरज सिंह, सचिव चन्दनकुमार यादव, सदस्यहरू बिरेन्द्र यादव, संजय कार्की, गजेन्द्र माझी तथा समाजसेवी अभिलासा सिंहलगायतले कप, मेडल र शिल्ड वितरण गरेका थिए । कार्यक्रमको सञ्चालन संघका सदस्य उज्जवल यादवले गरेका थिए ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |