राजविराज । राजविराज नगरपालिका–२ स्थित राजदेवी पोखरी महाड क्षेत्रको सडक निर्माण कार्य स्थानीयवासीको लगानी र श्रमदानमा सुरु भएको छ ।
राजदेवी मन्दिरलाई मुख्य सडकसँग जोड्ने अधुरो सडक वर्षौंदेखि निर्माण नहुँदा स्थानीयहरू आवतजावतमा कठिनाइ भोग्दै आएका थिए । स्थानीय तहले कुनै चासो नदेखाएपछि स्थानीयवासीहरूले आफैँ चन्दा संकलन गर्दै श्रमदानमार्फत बाटो निर्माण सुरु गरेका हुन् ।
महाड क्षेत्रको उत्तरपट्टि रहेको जीर्ण सडकका कारण सयौँ स्थानीयवासी दैनिक सास्ती खेपिरहेका थिए । स्थानीय नूतन मिश्राले बाटो नहुँदा बालबालिका, वृद्धवृद्धा र बिपन्न वर्गलाई विशेष समस्या हुने बताइन् ।
यद्यपि बाटो निर्माणको क्रममा राजदेवी पोखरी महाडको डिलको उत्तर भागमा स्थानीय घनश्याम यादवले बाटो अतिक्रमण गरी अवरोध सिर्जना गरेपछि निर्माण कार्य प्रभावित भएको छ । स्थानीय उमाकान्त चौधरीका अनुसार, यादवको अतिक्रमणका कारण काममा बाधा उत्पन्न भएको हो ।
सो घटनाबारे जानकारी पाएपछि प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल र जिल्ला प्रहरी प्रमुख गौतम कुमार केसीले स्थल निरीक्षण गर्दै बाटो निर्माणमा अवरोध नगर्न घनश्याम यादवलाई आग्रह गरेका छन् ।
“कतैबाट सहयोग नपाएपछि हामीले आफैँ चन्दा उठाएर श्रमदानमार्फत बाटो बनाउने निर्णय गरेका हौँ,” स्थानीय अगुवा उमाकान्त चौधरीले जानकारी दिए ।
सडक निर्माण सम्पन्न भएपछि महाड क्षेत्रका सयौँ स्थानीयवासीलाई दैनिक आवतजावतमा सहजता हुने विश्वास लिइएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |