राजविराज । सप्तरीको रूपनी गाउँपालिका–१, रायपुर घर भई हाल खडक नगरपालिका–८, बगोल भदियामा बस्दै आएकी एक महिलाले आफ्नै २० दिने शिशुको हत्या गरेकी छिन् ।
३० वर्षीया आइसा खातुनले मानसिक सन्तुलन गुमेको अवस्थामा आफ्नै छोरालाई खुकुरी प्रहार गरेकी प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका शिशुलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
घटनापछि खुकुरीसहित आइसालाई नियन्त्रणमा लिइएको छ । प्राथमिक स्वास्थ्य केन्द्र कल्याणपुरमा स्वास्थ्य परीक्षण गर्दा मानसिक अवस्था असन्तुलित रहेको पुष्टि भएपछि उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |