राजविराज । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र राजविराजले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा यस वर्ष रजत जयन्ती समारोह आयोजना गर्ने भएको छ । उक्त समारोह असोज २५ गते राजविराजस्थित राजरंगशाला मैदानमा भव्य रूपमा सम्पन्न हुने जानकारी दिइएको छ ।
मंगलवार, केन्द्रको बरदानी भवनमा आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीय निर्देशक भगवती दिदीले समारोहको विस्तृत जानकारी दिँदै, रजत जयन्तीको अवसरमा असोज २२, २३ र २४ गते “खुशियाली जीवनका लागि राजयोग शिविर” तथा “तनाव व्यवस्थापन शिविर” आयोजना गरिने जानकारी दिइन् ।
तनाव व्यवस्थापन शिविर राजरंगशाला मैदानमा सञ्चालन गरिनेछ भने त्यसमा प्रशिक्षक राजु घलेद्वारा प्रशिक्षण प्रदान गरिनेछ। भगवती दिदीले जनस्वास्थ्य, मानसिक सन्तुलन, र समाजमा अमन-चयन कायम राख्नका लागि यस्ता शिविरहरू उपयोगी हुने बताइन् ।
उनले थप भनिन्, “ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले मानिसहरूलाई कुलतबाट मुक्त गराई, शान्त, सकारात्मक र खुशियाली जीवनतर्फ अग्रसर गराउन निरन्तर सेवा दिँदै आएको छ ।”
रजत जयन्ती समारोहमा नेपालका प्रमुख शहरहरू काठमाडौं, नारायणघाट, वीरगञ्ज, विराटनगर र भारतको बिहार राज्यका विभिन्न शहरबाट समेत सहभागी हुने बताइएको छ ।
उक्त कार्यक्रममा ५ हजारदेखि १० हजारसम्मको सहभागिता हुने अनुमान गरिएको छ । समारोहको उद्घाटन ब्रह्माकुमारी नेपालकी निर्देशक राजयोगिनी डा. राज दादी माँबाट गरिनेछ ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, प्रेस स्वतन्त्रता सेनानी देवराम यादव, पूर्व अध्यक्षहरू धिरेन्द्र प्रसाद साह र मुरली प्रसाद यादव, साथै सञ्चारकर्मीहरू मनोज माझी, बिन्दु यादव, धर्मपाल राउत, बृजमान तामाङ, रामनारायण यादव, दिपेश जोशीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन दिनानाथ यादवले गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |