







चन्दन यादब 
सप्तरी । सप्तरी क्रिकेट संघको समन्वय तथा सबल नेपालको आयोजनामा सुरु भएको जिल्ला स्तरीय अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको पहिलो दिन लाली गुराँस मावि र कञ्चुनरप्रताप मावि रायपुर विजयी भएका छन् ।
बिहीवार स्थानीय पवित्रा विद्या मन्दिर (पविमावि) क्रिकेट मैदानमा भएको पहिलो खेलमा लाली गुराँस माविले नरेन्द्र माविलाई ८ विकेटले पराजित गर्दै सहज जित हात पारेको हो । टस जितेर लाली गुराँसले विपक्षी टोली बोेरियालाई ब्याटिङका लागि आमन्त्रण गरेको थियो । बोेरियाले १३ ओभरमै सबै विकेट गुमाउँदै ८२ रनको योगफल बनाएको थियो। जसमा सन्दीप मण्डलले १३ रन जोडे ।
बलिङतर्फ लाली गुराँसका चन्दन दासले ४ विकेट लिए भने साहिद आलम र मोहम्मद तवाकरले समान ३/३ विकेट हात पारे । जवाफमा लाली गुराँसले ८ ओभर २ बलमै २ विकेट गुमाएर लक्ष्य भेट्टायो। ओम चौधरीले उत्कृष्ट ४० रनको योगदान दिए भने कृष्ण यादवले २० रन जोडे। बोेरियाका मनिषा यादव र कौशल दासले १–१ विकेट लिए ।
खेलको प्लेयर अफ द म्याच लाली गुराँसका चन्दन दास घोषित गरिएको सबल नेपालका राहुल सिंहले जानकारी दिए ।
दोस्रो खेलमा कञ्चुनरप्रताप मावि रायपुरले केए मावि राजविराजलाई १० विकेटले पराजित गर्दै विजयी भयो । टस जितेर पहिलो ब्याटिङ गरेको रायपुरले ९ ओभर ३ बलमा सबै विकेट गुमाएर ५९ रन बनायो। टोलीका कृष्णकुमार यादवले १२ रन जोडे ।
राजविराजका बलर लक्ष्मण बिकले उत्कृष्ट प्रदर्शन गर्दै ३ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए । त्यस्तै राम बिक र रूपेश रामले २–२ विकेट तथा रन्जित यादवले १ विकेट हात पारे ।
६० रनको लक्ष्य पछ्याएको केए मावि राजविराजले ५ ओभरमै कुनै विकेट नगुमाई जित हात पार्यो । शिव अधिकारी ३६ रन र लक्ष्मण बिक १० रनमा अविजित रहँदा सहज जित सम्भव भएको थियो ।
खेलको प्लेयर अफ द म्याच रायपुरका लक्ष्मण बिक घोषित भए । उनलाई पुरस्कार राजविराज नगरपालिका–५ का वडा अध्यक्ष बन्धुलाल दासले प्रदान गरे ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |