







चन्दन यादब 
राजविराज । अपाङ्गता भएका बालबालिकालाई वैकल्पिक माध्यमबाट शिक्षा दिन कठीन भइरहेको अवस्थामा सेभद सप्तरीले आधा दर्जन बालबालिकालाई घरमै विद्यालय कार्यक्रम मार्फत निःशुल्क शिक्षा प्रदान गरिरहेको छ ।
जिल्लाका छिन्मस्ता गाउँपालिका र तिलाठीकोईलाडी गाउँपालिकाका ६ जना शारीरिक अपाङ्गता भएका बालबालिकालाई ११ महिनादेखि घरमै निःशुल्क अध्ययनको व्यवस्था मिलाइएको हो ।
गुणस्तरीय शिक्षामा सुधार ल्याउँदै कसैलाई पनि पछि नपारोस् भन्ने उद्देश्यअनुसार छिन्मस्ता गाउँपालिकाका ३ जना अपाङ्गता भएका बालबालिकालाई घरमै विद्यालय कार्यक्रम सञ्चालन गरी शिक्षा प्रदान गरिएको सेभद सप्तरीका अध्यक्ष ध्रुव देवले जानकारी दिए ।
छिन्मस्ता गाउँपालिका–३ का ११ वर्षीय शिवशंकर राम आर्थिक अभावका कारण पढ्ने इच्छा हुँदाहुँदै पनि विद्यालयसम्म पुग्न सकेका थिए । युरोपियन युनियनको सहयोग, सेभ द चिल्ड्रेनको नेतृत्व र सेभद सप्तरी तथा छिन्मस्ता गाउँपालिकाको साझेदारीमा सञ्चालित कार्यक्रमका कारण अब उनी घरमै शिक्षा प्राप्त गर्न सक्षम भएका छन् ।
शिवशंकर हाल भूपेन्द्र संस्कृत मावि सखडामा कक्षा १ मा अध्ययनरत छन् । कहिलेकाहीँ उनले ह्विलचेयरको सहारामा विद्यालय पनि जाने गरेको उनका पिता अमरेन्द्र रामले बताए । हाल उनलाई घरमै कक्षा १ को पाठ्यक्रमअनुसार सेभद सप्तरीकी एक सहायक शिक्षिकाले दैनिक रूपमा पढाइरहेकी छन्।
यसैगरी, छिन्मस्ता गाउँपालिका–७ हाटीकी नन्दनी कुमारी यादव (शारीरिक तथा बौद्धिक अपाङ्गता) लाई पनि घरमै शिक्षा प्रदान गरिँदै आएको छ । उनी हाल रा.प्रा.वि. हाटीमा कक्षा १ मा अध्ययनरत छिन् ।
त्यस्तै, गाउँपालिका–१ बरहीविरपुरका १५ वर्षीय सर्जु कुमार कर्ण पनि अपाङ्गता तथा पहुँच अभावका कारण विद्यालयबाट टाढा थिए । सेभद सप्तरीले अपाङ्गता भएका बालबालिकालाई शिक्षामा पहुँच बढाउने कार्यक्रम सञ्चालन गरेपछि उनी अत्यन्तै खुसी भएको बताइएको छ । सर्जु हाल रुद्र नारायण माविमा कक्षा १ मा अध्ययनरत छन् ।
घरमै विद्यालय कार्यक्रममार्फत तिलाठीकोईलाडी गाउँपालिका–५ बरसाईन बनरझुलाकी संजना कुमारी राम, वडा–३ सकरपुराका सत्यम कुमार राय र वडा–७ सडेपारकी समीका साहलाई पनि निःशुल्क रूपमा पठनपाठन गराइँदै आएको सेभद सप्तरीका अध्यक्ष ध्रुव देवले जानकारी दिए ।
उक्त परियोजना सप्तरीको छिन्मस्ता र तिलाठीकोईलाडी गाउँपालिकाका ६ जना तथा महोत्तरीको सम्सी गाउँपालिका र मटिहानी नगरपालिकामा समेत समावेशी शिक्षामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको अध्यक्ष देवले बताए ।
अनुगमनका क्रममा छिन्मस्ता गाउँपालिका अध्यक्ष बिधानानन्द चौधरीले अपाङ्गता भएका बालबालिकाको पहिचान गरी घरमै विद्यालय कार्यक्रम सञ्चालन गर्नु प्रभावकारी बन्दै गएको बताए । विद्यालय बाहिर रहेका बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराई विद्यालयसम्म पुर्याउन सबै सरोकारवाला निकाय सक्रिय हुनुपर्नेमा उनले जोड दिए ।
उनका अनुसार गाउँपालिकाले शिक्षाबाट वञ्चित बालबालिकालाई लक्षित गर्दै विशेष छात्रवृत्ति कोष समेत स्थापना गरेको छ । घरमै कक्षा सञ्चालन भएपछि अपाङ्गता भएका बालबालिकामा पठन–पाठनप्रति रुचि उल्लेखनीय रूपमा बढेको छिन्मस्ता गाउँपालिका शिक्षा शाखा संयोजक सन्तोष रायले बताए ।
युरोपियन युनियनको सहयोग तथा सेभ द चिल्ड्रेनको नेतृत्वमा, सेभद सप्तरीको साझेदारी र छिन्मस्ता तथा तिलाठीकोईलाडी गाउँपालिकाको समन्वयमा सञ्चालित ‘गुणस्तरीय शिक्षामा कोही पनि पछि नपरोस्’ परियोजना अन्तर्गत संयुक्त अनुगमन तथा भ्रमण बैठक सम्पन्न गरिएको छ ।
अनुगमन टोलीमा जिल्ला समन्वय समिति प्रमुख शिवनारायण साह, छिन्मस्ता गाउँपालिका अध्यक्ष बिधानानन्द चौधरी, उपाध्यक्ष राजोदवी यादव, मधेश प्रदेश शिक्षा निर्देशनालयका निर्देशक महेन्द्र महतो, वडा–३ का अध्यक्ष विजयकुमार यादव, स्वास्थ्य तथा सामाजिक विकास शाखाका प्रमुख दिपेन्द्र यादव, जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका अधिकृत कमलनाथ यादव, सेभद सप्तरीका सचिव नरेन्द्र यादव, कार्यक्रम संयोजक अनिल यादव, शिक्षा अधिकृत रामविनय यादव लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सन्तोष यादवले गरेका थिए ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |