







चन्दन यादब 
राजविराज । सप्तरीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका स्व. लोकेंद्र कुमार बुढाथोकीको स्मृतिमा आयोजित ३२औँ स्मृति दिवसको अवसरमा पत्रकार विनय लाल कर्णलाई ३०औँ लोकेंद्र स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
शनिबार नेपाल पत्रकार महासंघ शाखा सप्तरीद्वारा राजविराजमा आयोजित कार्यक्रममा पत्रकार कर्णलाई उक्त पुरस्कारबाट सम्मानित गरिएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष विष्णु कुमार मण्डलले स्व. लोकेंद्र बुढाथोकीको रहस्यमय मृत्युको वास्तविकता पत्ता लगाउन पत्रकारहरूले निरन्तर सरकारमाथि दबाब दिँदै आए पनि अहिलेसम्म सत्य तथ्य बाहिर नआउनु दुःखद र चिन्ताजनक भएको बताए। उनले राज्य पक्षबाट घटनाको यथार्थ नखुल्नुका कारण मृत्यु अझै रहस्यमय बनेको उल्लेख गरे ।
उनले भने, “स्व. बुढाथोकीको मृत्युको वास्तविक कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन, राज्यले यस विषयमा गम्भीर पहल नगर्नु दुःखद हो ।”
लोकेंद्र बुढाथोकीले भ्रष्टाचार, अपराध तथा विभिन्न सामाजिक विकृति–विसंगतिविरुद्ध निर्भीक रूपमा कलम चलाएको स्मरण गर्दै वक्ताहरूले आजका सञ्चारकर्मीहरूलाई पनि यस्ता बेथितिविरुद्ध निडर भएर पत्रकारिता गर्न प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरे ।
करिब ३१ वर्षअघि भ्रष्टाचार तथा बेथितिविरुद्ध निरन्तर समाचार लेख्दै आएका पत्रकार बुढाथोकीको रहस्यमय मृत्यु भएको थियो । त्यतिबेला साधन–स्रोतको अभाव भए पनि उनले आफ्नो निर्भीक लेखनीमार्फत सप्तरीको पत्रकारितामा छुट्टै पहिचान बनाएका थिए ।
भौतिक रूपमा उनी आज हामीबीच नरहे पनि पत्रकारिताप्रतिको उनको निर्भीकता, इमान्दारिता र सादगीपन आजका पत्रकारहरूका लागि अनुकरणीय रहेको वक्ताहरूले बताए । पत्रकारिता स्वभावतः जोखिमपूर्ण पेशा भए पनि लोकेंद्रले त्यसलाई आत्मसात गर्दै भ्रष्टाचार, अपराध र बेथितिको भण्डाफोर निर्भीकतापूर्वक गरेका थिए ।
उनको योगदानको सम्मानस्वरूप नेपाल पत्रकार महासंघ सप्तरीले ‘लोकेंद्र स्मृति पुरस्कार कोष’ स्थापना गरी प्रत्येक वर्ष सप्तरीलाई कार्यक्षेत्र बनाएर उत्कृष्ट समाचार लेख्ने एक जना पत्रकारलाई लोकेंद्र स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण देवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका केन्द्रीय सदस्य राजु विक, ललिता साह, पूर्व अध्यक्ष मुरली प्रसाद यादव, प्रेस युनियन अध्यक्ष विनय लाल कर्ण, प्रेस सेन्टर अध्यक्ष बिन्दु यादव, प्रेस मञ्च अध्यक्ष धर्मपाल राउत, समाजवादी प्रेस संगठनका अनिल पोखरेल, अग्रज सञ्चारकर्मी मनोज माझी, सुरेन्द्र प्रसाद गुप्ता, सतीश दत्तलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन शाखा सह–सचिव डम्बर राईले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष रामनारायण विश्वासले दिएका थिए ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |