







Memo Khabar 
राजविराज । नागरिक–सेना सम्बन्ध सुदृढ गर्ने उद्देश्यले नेपाली सेनाको राजविराजस्थित श्री बरख गणले सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरममा एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
शनिबार लोखरमस्थित स्वास्थ्य चौकी तथा प्रसूति गृहमा सम्पन्न उक्त शिविर श्री नं. २७ फिल्ड गुल्म र छिन्नमस्ता गाउँपालिकाको सहकार्यमा सञ्चालन गरिएको हो ।
श्री बरख गणका प्रमुख सेनानी सोबित बहादुर चन्दले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई सहज र सुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने तथा नागरिक–सेना सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले शिविर आयोजना गरिएको जानकारी दिए ।
शिविरमा ५०२ भन्दा बढी स्थानीय बासिन्दाले सामान्य ओपीडी, आँखा उपचार, स्त्री तथा प्रसूति रोग तथा बाल रोगसम्बन्धी उपचार सेवा प्राप्त गरेका थिए । साथै, निःशुल्क औषधि वितरणसमेत गरिएको लोखरम स्वास्थ्य चौकीका इन्चार्ज आलोक रञ्जन झाले जानकारी दिए ।
शिविरमा छिन्नमस्ता अस्पतालबाट डा. विजयकुमार गुप्ता (स्त्री तथा प्रसूति रोग), डा. श्रीनारायण यादव (बाल रोग) र डा. महफुज आलम, सगरमाथा आँखा अस्पताल राजविराजबाट डा. हेमा देव, श्री नं. २७ फिल्ड अस्पतालबाट प्रा. सह–सेनानी डा. अविनाश यादव तथा तिलगंगा आँखा अस्पताल, काठमाडौंका आँखा सहयोगी टिकाराम बास्तोला लगायतका विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गरेका थिए ।
शिविर उद्घाटन कार्यक्रममा जिल्ला प्रमुख अधिकारी टुवराज पोखरेल, सशस्त्र प्रहरी बल नं. ६ गणका सशस्त्र प्रहरी उपरीक्षक रोशन बुढाथोकी, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।
शिविर सञ्चालनमा गजेन्द्रनारायण सिंह अस्पताल, जनस्वास्थ्य कार्यालय सप्तरी, सगरमाथा आँखा अस्पताल राजविराज तथा तिलगंगा आँखा अस्पताल, काठमाडौंको सहयोग रहेको थियो । यस अवसरमा आयोजित रक्तदान कार्यक्रममा महिला १ र पुरुष १५ गरी जम्मा १६ जनाले रक्तदान गरेका थिए ।
उल्लेखनीय छ, केही महिनाअघि लोखरमको मुसहर बस्तीमा हैजा फैलिएको थियो। त्यसकारण यहाँ स्वास्थ्य सचेतना तथा उपचार सेवा अत्यन्त आवश्यक रहेको स्थानीयवासीहरूले बताएका छन् ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |