







चन्दन यादब 
राजविराज । गणेश कुमार मण्डलको अध्यक्षतामा ‘सार्वभौम नागरिक पार्टी’ नामक नयाँ राजनीतिक दल दर्ता भएको छ । दल दर्ताका लागि आवश्यक सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेपछि पार्टीले सम्बन्धित निकायबाट दर्ता प्रमाणपत्र प्राप्त गरेको जनाएको छ ।
दर्ता प्रमाणपत्र हातमा लिएपछि पार्टीका अध्यक्ष मण्डलले नयाँ दलको गठनले राष्ट्रिय राजनीति, सुशासन र नागरिक अधिकारको संरक्षणतर्फ नयाँ विकल्पको सुरुवात गर्ने विश्वास व्यक्त गरे । उनका अनुसार पार्टीले आगामी दिनमा नागरिक स्वतन्त्रता, सुशासन, पारदर्शिता र सामाजिक न्यायलाई प्रमुख एजेन्डा बनाएर राजनीतिक गतिविधि अघि बढाउने तयारी गरेको छ ।
पार्टी गठनको मूल उद्देश्य भने देशलाई दलतन्त्रको विभाजन, भ्रष्टाचार, भागबण्डा र लामो समयदेखि चलेको राजनीतिक अस्थिरताबाट मुक्त गर्दै नागरिकतन्त्र–केन्द्रित शासन व्यवस्था स्थापना गर्नु रहेको अध्यक्ष मण्डलले बताए ।
“दशकौँसम्म दलहरूले देशमा कब्जा गरे, नागरिकलाई मात्र मतदाता बनाइयो—निर्णयकर्ताको भूमिकामा उभ्याइएन । यही अन्याय अन्त्य गर्दै सत्ता पुनः नागरिकमा फिर्ता ल्याउने ऐतिहासिक यात्राका रूपमा यो पार्टी जन्मिएको हो,” मण्डलले भने ।
नयाँ दल दर्तासँगै आगामी राजनीतिक परिदृश्यमा पार्टीले कस्तो प्रभाव पार्नेछ भन्नेप्रति सर्वसाधारणको ध्यान केन्द्रित भएको छ ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |